राजनीति

दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान



काठमाडौँ, १५ मंसिर । सत्तारूढ गठबन्धनका दलले मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान हुने भएको छ ।

ती मतदान केन्द्रमा पुनः मतदानका लागि सबै तयारी गरिएको र करिब आठ हजार मतदाताले पुनः मतदान गर्न पाउने दोलखास्थित मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।

निर्वाचन आयोगको यही मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रका क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

आयोगले वैत्यश्वरको वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्रमा पनि धाँधली भएको ठहर गर्दै आयोगले दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पुनः मतदानका लागि निर्देशन दिएको थियो ।