राजनीति

सत्ताका लागि अर्को गठबन्धन बनाउन हुँदैन : महामन्त्री शर्मा



काठमाडौँ, ५ पौष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् ।

आज काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा र चुनाव सकिएपछि सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुनमा जोड दिए ।

सत्ताको आकांक्षा, आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षहरू गम्भीर हुनुपर्ने उनले बताए । उनले प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रियाभित्रबाट जानुपर्ने र राष्ट्रपति तथा सभामुखको चयन हुँदै गर्दा आवश्यक राख्ने सहमति, सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए ।