काठमाडौँ, ६ पौष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि उहाँले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताउनुभयो । अध्यक्ष दाहालले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
भूकम्पपछिको पुनःनिर्माण भइसकेको र ड्राइपोर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने टोलीलाई विश्वास दिलाउनुभयो । अध्यक्ष दाहालले नयाँ राजदूत आएपछि दुवैतिर आवतजावत खुला हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको सांसद सापकोटाले जानकारी दिनुभयो ।
टोलीले आज तातोपानी नाका खुलाउन पहल गरिदिन अध्यक्ष दाहाललाई ज्ञापनपत्रसहित अनुरोध गरेको थियो । ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य सापकोटाले नेपाल–चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहजरुपमा सञ्चालन र अरनिको राजमार्गको स्तरोन्नतिका लागि अध्यक्षलाई ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
उहाँसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, अमृता नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका प्रतिनिधि अध्यक्ष दाहाल निवास खुमलटार पुग्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्