काठमाण्डौ, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई एक दिने अल्टिमेटम दिएका छन् ।
बालुवाटारमा बिहीबार साँझ भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलका क्रममा प्रचण्डले शुक्रबारसम्म जवाफ दिन भनेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट नेताहरूसँग छलफल थालेका छन् ।
बैठकमा प्रचण्डले गठबन्धनबाट कांग्रेसले सरकार चलाइसकेकोले अब आफूले पालो पाउनुपर्ने बताएका थिए । प्रचण्डको अडानमा देउवाले भने सहमति नजनाएको बालुवाटार स्रोतले बताएको छ । पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेका हुन् ।
देउवाले भने प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए । शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाको भनाइ छ ।
तर, कांग्रेसले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरे विकल्पमा जाने संकेत प्रचण्डले गरेका छन् ।कांग्रेस नेताहरूलाई शुक्रबारसम्म निर्णायक जवाफ दिन प्रचण्डले आग्रह गरेको स्रोतले जानकारी गरायो । यसबीच प्रचण्ड र कांग्रेसका नेता प्रकाशमान सिहबीच आज विहान भेट भएको छ । भेटमा आफूलाई प्रधानमन्त्री पद कांग्रेसले दिनु पर्ने वताएको बुझिएको छ ।
प्रचण्ड यसपटक जसरी पनि प्रधानमन्त्री बन्ने मनसायमा छन् । कांग्रेसले साथ नदिए एमालेसँग मिलेर सरकार गठन गर्ने विकल्प उनका अगाडि छ ।










प्रतिक्रिया दिनुहोस्