राजनीति

अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन



काठमाडौँ, ९ पौष । काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने नेवार समुदायको माग छ ।

आज यहाँ नेवार समुदायका विभिन्न १५ संघ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेन गर्दै वाग्मती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् । अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजरअन्दाज गर्न नहुने उनीहरुको भनाइ छ । “काठमाडौँ महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजरअन्दाज गर्न सकिँदैन, उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ”, नेवाःजातीय महासंघका अध्यक्ष मनोज नेवाःखड्गीले भने ।

उनले कुनै पनि नागरिकप्रति आफूहरुको वैरभाव नभएको बताए । आफूहरुको सरोकार काठमाडौंको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको उनको भनाइ छ । रासस