काठमाडौँ, १३ पौष । मुलुक र पार्टीको सहज परिस्थितीमा मात्र नभई असहज परिस्थितीलाई समेत सहजतामा रुपान्तरण गर्ने मुख्य जिम्मेवारी लिनुभएका नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालका सम्पूर्ण कम्युनिष्ट विचारधारा बोक्ने पार्टीलाई एकतावद्ध बनाएर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियान शुरु गर्नुभएको छ ।
विगतदेखी नै ‘जहाँ समस्या, त्यही समाधान’ भन्ने मान्यतालाई आत्मसात् गर्दै देश, जनता तथा पार्टीको हितको लागि जस्तोसुकै कदम चाल्न समेत पछि नपर्ने नेता बस्नेतको पहलमा पछिल्लो समय कम्युनिष्ट पार्टीको नेतृत्वमा संघीय सरकार बन्न सफल भएको छ । त्यस्तै सातवटै प्रदेशमा दक्षिणपन्थी पार्टीलाई समाप्त पारिदिनुभएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार निर्माण गर्न नेता वस्नेतले रातारात दक्षिणपन्थी कांग्रेसको नियन्त्रणमा रहेको देशको राजनीतिलाई कम्युनिष्टको नेतृत्वमा ल्याउन सफल बन्नुभएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सुमधुर सम्बन्ध बनाउने लक्ष्यका साथ नेता बस्नेतको एक कदमले मुलुकको राजकीय तथा शासकीय अवस्थालाई एकाएक कम्युनिष्टमय बनाउनुभयो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिसमेत उहाँकै पछि आउन बाध्य भयो । देशको विशेष परिस्थितीमा नेपाली जनताले चाहेको कम्युनिष्ट सरकार निर्माण गर्न नेता बस्नेतको भूमिका अविष्मरणीय रहेको कम्युनिष्ट नेताहरुले बताए ।
एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र समेत रहनुभएका नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट विचार राख्ने स्वतन्त्र सांसद प्रभु शाहलगायतलाई गोलबद्ध गरी देशको सवैभन्दा शक्तिशाली पार्टी निर्माणको अभियान शुरु गर्नुभएको हो । सोही क्रममा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा संघीय सरकार निर्माण भएको हो । सोही अभियानकै कारण अब सातवटै प्रदेशमा कम्युनिष्टमय सरकार बन्ने समेत भएको छ । नेता बस्नेतले गर्नुभएको भेटका क्रममा प्रचण्ड, नेपाल तथा शाहलगायतका नेताहरुले मुलुकको आवश्यकता नै बाम एकता रहेकाले सोही अनुसार अगाडी बढ्नु अहिलेको अपरिहार्यता र नेपाली जनताको विजय हुने निष्कर्ष रहेको निकट स्रोतले जानकारी दिएको छ । सरकार सञ्चालनको लागि कार्यगत एकतामात्र नभई कम्युनिष्ट एकता अहिलेको आवश्यता रहेको औल्याउँदै नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई एक ढिक्का बनाउन नेता बस्नेतले खेल्नुभएको भूमिकालाई स्वीकार गरी अगाडी बढ्ने संकेत गर्नुभएको बताइएको छ ।
स्रोतले भन्यो, ‘माओवादी, एकीकृत समाजवादी तथा कम्युनिष्ट विचार राख्ने स्वतन्त्र सांसदहरुले नेपाली कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा पुर्याउन तथा नेपाली जनताको माग, चाहना र आवश्यकतालाई पुरा गर्ने विकास र समृद्धिको यात्रामा कम्युनिष्टहरु एक हुनुको विकल्प छैन । छिन्नभिन्न भए कम्युनिष्ट आन्दोलन नै संकटमा पर्ने भएकाले अब सवै कम्युनिष्ट एउटै ठाउँमा रहेर अगाडी बढ्नुपर्छ भन्ने सवै नेताहरुको एकसुत्रीय बुझाई रहेको छ । सायद अब पुनः सवै बामघटकहरुको एकीकृत भएर शक्तिशाली पार्टी निर्माण हुन्छ होला ।’
विगत केही वर्ष अघि समेत एमाले, माओवादी तथा एकीकृत समाजवादी सहितको नेकपा बनेको थियो । जुन समयमा नेताहरुको स्वार्थ, दम्भ तथा घमण्डका कारण पार्टी फुटको अवस्थामा पुगेको थियो । जसले गर्दा मंसिरमा सम्पन्न निर्वाचन तथा स्थानीय तहको निर्वाचनमा कांग्रेसले ठूलो फाइदा लिन पुगेको छ भने कम्युनिष्ट पार्टीहरुलाई क्षती पुगेको छ । कम्युनिष्ट पार्टीलाई एक ढिक्का बनाई विगतमा भएको क्षतीलाई रोक्न तथा आगामी दिनमा दक्षिणपन्थी पार्टीलाई परास्त गर्न नेता बस्नेतले छुट्टै पार्टी गठन गर्ने अभियानमा रहनुभएका पूर्वमन्त्री तथा स्वतन्त्र सांसद प्रभु साहलाई समेत भेट गर्नुभएको छ । जसमा साहले कम्युनिष्टको एकतावद्ध पार्टी निर्माण हुने भए आफुहरुले नयाँ पार्टी नखोल्ने विश्वास दिलाउनुभयो । कम्युनिष्ट विचार राख्ने दल तथा नेताहरु मिल्नुको कुने विकल्प नभएको उल्लेख गर्दै कम्युनिष्ट एकताको अभियान थाल्ने नेता बस्नेतलाई सदैव साथ र सहयोग हुने विश्वास दिलाउनुभएको स्रोतले बतायो । स्वतन्त्र सांसद साह समेत नेता बस्नेतसँगको भेटपछि एमालेमा नै फर्कने वा पार्टी बनाएर एकीकरण गर्ने मनस्थितीमा रहेको निकट स्रोतले जानकारी दिएको छ ।
अभियानको नेतृत्व गर्नुभएका नेता बस्नेतले भन्नुभयो, ‘एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी तथा प्रभु शाह सहित स्वतन्त्र समेत मिलेर नेपालमा सबै भन्दा शक्तिशाली पार्टी बनाउने अभियान सुरु भैसकेको छ । छुट्टै पार्टी गठन गर्न लाग्नुभएका नेता प्रभु शाहसमेत शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको पक्षमा रहनुभएको छ । देशको विकास र समृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई दरविलो र गरर्विलो बनाउन कम्युनिष्ट एकता अनिर्वाय रहेको छ । कम्युनिष्ट पार्टी एकताबद्ध भई देशको नेतृत्व गरे विकास र समृद्धि मात्र हैन, नेपालको राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा ऐतिहासिक सफलता हुनेछ । त्यसैले मुलुक र जनताको लागि अब नेपालमा एकमात्र कम्युनिष्ट पार्टी निर्माण हुनुपर्छ भन्ने मान्यताका साथ छिन्नभिन्न भएका नेपाली कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्ने अभियान शुरु गरेको छु । कठिन छ तर सफलता नजिकमा छौं । नेपाली जनतामा छिट्टै खुसीको खवर आउने सम्भावना रहेको छ ।’










प्रतिक्रिया दिनुहोस्