राजनीति

माओवादीभित्र पनि नेतृत्व हस्तान्तरणको कुरा उठ्यो



काठमाडौं१७ पुस । नेकपा माओवादीभित्र पहिलो पटक सरकारमा जानेले पार्टीको कार्यकारी जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने आवाज उठेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित सरकारमा गएपछि पार्टी सञ्चालनका लागि कार्यकारी नेतृत्व तोक्नुपर्ने माग माओवादीमा उठेको हो । यो आवाजसँगै पार्टीको नेतृत्व तल्लो तहका नेताहरूलाई दिनुपर्ने छलफलसमेत सुरु भएको छ ।

माओवादीका पोलिष्टव्युरो सदस्य डोरप्रसाद उपाध्यायले अध्यक्ष र उपाध्यक्ष दुवै सरकारमा गएकोले पार्टीलाई व्यवस्थित बनाउन महासचिव देव गुरुङलाई नेतृत्व दिनुपर्ने धारणा नै सार्वजनिक गर्नुभएको छ । उहाँले मिडियामार्फत यस्तो धारणा राख्नुभएको हो ।

सरकारमा पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष गएकाले उहाँहरू पार्टीको गतिविधिमा धेरै समय दिन सक्नुहुन्न,’ उपाध्यायले भन्नुभएको छ, ‘उहाँहरूले तल्लो तहको नेताहरूलाई काम गर्ने जिम्मेवारी दिनुभयो भने संगाठनिक पोर्टफोलियो पनि निर्माण हुन्छ ।’
नेकपा माओवादीमा यसअघि प्रचण्डले सरकारको नेतृत्व गर्दा जिम्मेवारी हस्तान्तरणको कुरा उठेको थिएन । प्रचण्ड यसअघि दुई पटक प्रधानमन्त्री बनिसक्नु भएको छ । तेस्रो पटक प्रधानमन्त्री बनेपछि भने पार्टीको कार्यकारी जिम्मेवारी छाडनुपर्ने आवाजसहित छलफल अघि बढेको हो ।

अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सरकारमा गएकोले स्व्भाविक रुपमा महासचिवले जिम्मेवारी पाउनु पर्ने तर्क उपाध्याय समुहको छ ।
माओवादी सचिव गणेश शाहले पनि अव जिम्मेवारी हस्तान्तरण गर्नूपर्ने बताउनु भएको छ ।
उहाँका अनुसार गम्भीरतापूर्वक बैठक बसे पार्टीको काम अगाडि बढाउन प्रचण्डले नयाँ जिम्मेवारी दिनुपर्छ । उहाँले सरकारमा नजानेहरुलाई मूलरूपमा पार्टीको जिम्मेवारी दिनुपर्ने तर्क गर्नुभएको छ ।