समाचार

खाद्य व्यवस्था कम्पनीद्वारा ६३ हजार क्विन्टल धान खरिद



काठमाडौँ, १९ पौष । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म ६३ हजार तीन सय ६२ क्विन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल मात्रै धान खरिद गरेको हो ।

खाद्य व्यवस्था कम्पनीले देशका विभिन्न १० कार्यालयबाट धान खरिद गर्दै आएको छ । जसमध्ये विर्तामोड, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर कार्यालयबाट धान खरिद सुरु भइसकेको कम्पनीले जनाएको छ । यसवर्ष खरिद गर्ने ३० हजार २० मेट्रिकटन धानका लागि ९९ करोड बजेट छुट्याइएको छ ।

कम्पनीले पहिलो चरणमा २० हजार नौ सय मेट्रिकटन धान खरिदको योजना बनाएको छ । गएको कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ रुपैयाँ तोकेको छ ।