समाचार

जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदार कारबाहीमा



धनुषा, १९ पौष । जाँडरक्सी खाएर होहल्ला गरेकाे भन्दै प्रहरी हवलदार कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोककाे एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेका हुन् ।

हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएकाे धनुषाका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा रही जिप्रका धनुषामा काजमा खटाइएका प्रहरी हवलदार साहलाई स्पष्टीकरण माग गर्दै कारबाहीकाे प्रक्रिया अगाडि बढाइएको हाे । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।