काठमाडौँ, २४ पौष । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गृहकार्य भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी पार्टी एकताका विषयमा कुराकानी गरेका थिए । गत मंसिरको चुनावमा नेपाल समाजवादीका उम्मेदवारहरू पनि माओवादी केन्द्रको चुनाव चिन्ह लिई उठेका थिए । समानुपातिकतर्फ उम्मेदवार पनि माओवादीकै बन्दसूचीमा समावेश गरिएको थियो ।
नेपाल समाजवादी र माओवादीबीच कार्यदल बनाएर पार्टी एकता छिट्टै गर्ने समझदारीसमेत बनेको छ । बाबुरामले ७ वर्षअघि माओवादी छाडेका थिए । माओवादीले वाम एकताको पहलका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ । नेपाल समाजवादीले आइतबार बस्ने बैठकबाट वार्ता टोली गठन गर्ने तयारी गरेको छ ।
भेटमा दुई पार्टीबीच एकता, पौष २६ मा सरकारलाई विश्वासको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्