काठमाडौँ, ३० पौष । गण्डकी प्रदेश सभामा आज सभामुखको निर्वाचन हुने भएको छ ।
यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ३ बजे बोलाइएको छ । प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले शुक्रबारको बैठकमा प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन् । गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ । सत्ता गठबन्धनकै बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार कृष्ण धिताल सभामुख हुने लगभग निश्चित छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।गण्डकी प्रदेशमा शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत पाएका थिए । ६० सदस्य रहेको प्रदेश सभामा २७ सिटसहित सबभन्दा ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मत दिएर प्रमुख प्रतिपक्षी दल बनेको छ ।
मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए। ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका एमाले सांसद मित्रलाल बस्यालले भने मतदानमा भाग लिएनन् ।










प्रतिक्रिया दिनुहोस्