Banner News

सरकारले दियो भोलि देशभर शोक बिदा



काठमाडौँ, १ माघ । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । ‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ । भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने ।

घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ। दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उनले बताए । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उनले जानकारी दिए ।

यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । चालक दलका चारजना सदस्यहरु सहित विमानमा ७२ यात्रु सवार थिए । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर थिए ।