सुर्खेत, ६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय दिइन् ।
उनले नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राखे । मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य सङ्ख्यामा २५ सदस्यले उनको पक्षमा विश्वासको मत दिएका थिए । जहाँ ३९ प्रदेशसभा सदस्य बैठकमा उपस्थिति थिए । १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
सभामुख गुरुङले मुख्यमन्त्रीले आफूलाई प्रदेशसभामा विश्वास छ भनी राखेको प्रस्तावमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्यामा २५ सदस्यले पक्षमा मत दिएका र उक्त सङ्ख्या उपस्थित सदस्यको बहुमत भएकोले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन् । त्यसलगत्तै, अर्को सूचना नभएकासम्मका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिइन् । रासस
प्रतिक्रिया दिनुहोस्