काठमाडौँ, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम अझै हुन सकेको छैन ।
११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन गरेर सम्पन्न भएको थियो । त्यसपछिको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई चयन गर्यो । धेरै छलफल र बैठकपश्चात पदाधिकारी चयन भए पनि अहिलेसम्म केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन, विभागलगायत बाँकी नै छन् ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले नेताका जिम्मेवारी बाँडफाँटलगायत टुंगो लगाउने भनिएको थियो । तर, सो बैठक यसबारे कुनै निर्णय नै नगर्दै सकिएको छ । आन्तरिक छलफलमै अड्किएका कारण ढिलाइ भइरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्