काठमाडौँ, २१ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामथ्र्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् ।
भैरहवामा शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक छलफल कार्यक्रममा उनले बुद्धकालीन सभ्यताको संरक्षण गर्दै बृहत्तर लुम्बिनीको विकास जरूरी रहेको बताए। उनले लुम्बिनी गुरुयोजनाका लागि आवश्यक बजेटको व्यवस्थापनमा कुनै कमी नहुने उल्लेख गरे । ‘गुणस्तर र समयलाई ध्यान दिँदै लुम्बिनीसँग जोडिएका बुद्धकालीन सम्पदासहित बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण अगाडि बढाएका छौं,’ उनले भने ।
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसबाट समग्र लुम्बिनीको विकासमा टेवा पुग्ने बताए। उनले तराईका समथर भूमिमा उत्पादन तथा रोजगारी वृद्धि गरी देशको कूल ग्रार्हस्थ्य उत्पादनमा सरकारले जोड दिइरहेको बताए । ‘भेरी बबई सिँचाइ आयोजना, राप्तीको पानी कपिलवस्तुमा पुर्याउने, नौमुरे आयोजना, कालीगण्डकी तिनाउ डाइभर्सनलगायत आयोजनाबाट पश्चिम तराईमा कृषि उत्पादनमा टेवा मिलेको छ,’ उनले भने।










प्रतिक्रिया दिनुहोस्