राजनीति

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र



काठमाडौँ, २१ माघ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए ।

उनले भने, ‘आजको बैठकमा पार्टी संगठनबारे छलफल भयो, २ महिना सबै फिल्डमा जाने, पार्टी पंक्ति बाहेक जनता पनि भेटेर २ महिना पछि त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ । किनभने २ महिना भित्रमा राष्ट्रपतिको चुनाव, उपराष्ट्रपतिको चुनाव जे हुने भइसक्छ । त्यसपछि हामी केन्द्रीय समितिको बैठक बसेर अघि बढ्छौँ । त्यसको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने, त्यसपछि बाँकी रहेका काम अगाडि बढाउँछौँ । सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ । सबै पक्षसँग हामी खुला छौँ, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो । गृहमन्त्रीको बारेमा केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौँ । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो ।’ उनले सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताए ।