अर्थ

प्रेम दिवसमा सौराहामा खाना महोत्सव हुने



भरतपुर, २२ माघ । पर्यटकीय नगरी चितवनको सौराहामा प्रेम दिवसको अवसर पारेर ‘खाना महोत्सव’ हुने भएको छ ।

रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान) सौराहाले १७औँ खाना महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव यही माघ २९ देखि आगामी फागुन २ गतेसम्म सौराहाको सडकमा नै सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय तथा विदेशी खानाका परिकारसँगै स्थानीय कला, संस्कृति, वेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाइने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए ।

महोत्सवअन्तर्गत कार्यक्रमस्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । यस्तै हरेक दिन बेलुका जनजातिको कला तथा संस्कृतिसहितको प्रदर्शनसमेत गरिनेछ ।