राजनीति

मेट्रो अटो सेण्टरको १०औं वार्षिकोत्सव सम्पन्न



भक्तपुर, २८ माघ । होण्डा कम्पनीका उत्पादन होण्डा मोटरसाइकल तथा स्कुटरहरु बिक्रिको लागि भक्तपुर गठाघरस्थित स्याकार कम्पनीको अधिकृत बिक्रेता मेट्रो अटो सेण्टरको दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु सहित मनाएको छ ।

उक्त कार्यक्रमको समुद्वघाटन कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वउद्योग मन्त्री महेश बस्नेत र होण्डा स्याकार कम्पनीका अध्यक्ष शौरभ ज्योतीले संयुक्त रुपमा गर्नुभयो । उक्त कार्यक्रमको सभापतित्व मेट्रो अटोका अध्यक्ष शारदा न्यौपानेले गर्नुभएको थियो । मेट्रो अटो सेण्टरका प्रबन्ध संचालक मिलन सिग्देलले मेट्रो अटोले दशौ वार्षिकोत्सव मनाउन लागेकोमा हर्ष बिभोर भएको जनाउदै प्रमुख अतिथीलगायत सबैलाई स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटो व्यवसायले महत्त्वपूर्ण योगदान गरेको सन्दर्भ उठाउँदै पछिल्लो समयमा सरकारको नीतिको कारणले असहज भए पनि नयाँ सरकार बनेपछि अर्थमन्त्रीले केही खुकुलो नीति अप्नाएको उल्लेख गर्नुभयो । सरकारले खुकुलो नीति लिएसँगै छिटै अटो ब्यवसाय पुरानो लयमा फर्किने र राजस्वमा पहिले जस्तै महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको उहाँले बताउनुभयो ।

स्याकार कम्पनीका अध्यक्ष तथा नाडाका पूर्वअध्यक्ष ज्योतीले अटोमोबाइल व्यवसायले रोजगारी तथा राजस्वमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भयो । भक्तपुर जिल्लामा मेट्रो अटो सेण्टरले ग्राहक बर्गलाई पुर्याएको उत्कृष्ट सर्भिस, स्पेयर पार्ट्स र सेल्सको योगदानको उच्च प्रशंसा गर्नुभयो र यस क्षेत्रमा होन्डाको बजार शेयर झन्डै ३९ प्रतिशत पुर्याउनु भएकोमा सम्पूर्ण टिमलाई धन्यवाद र आभार ब्यक्त गर्नुभयो ।

यसै अवसरमा होण्डा मेट्रोको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईं मार्फत मेट्रो अटोबाट रु। २५ हजार र स्याकार ट्रेडिङ्ग कम्पनीको तर्फबाट रु। ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । अन्तमा सबैलाई धन्यवाद दिदै मेट्रो अटोका अध्यक्ष शारदा देबी लुइटेलले मेट्रो अटोबाट सदैब भक्तपुरबासीलाई गुणस्तरीय सेवा दिने प्रतिवद्वता व्यक्त गर्दै सभा विसर्जन गर्नुभयो ।