Banner News

राष्ट्रपति निर्वाचनको मतभार पुरानै गणनाको आधारमा कायम हुने



काठमाडौँ, ८ फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणना अनुसारनै कायम हुने बताएका छन् ।

फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भइनसकेकाले पुरानै गणनाको आधारमा मतभार कायम हुने जानकारी दिए ।

“०७८ मा जनगणना भएपनि त्यसको अन्तिम प्रतिवदेन आइसकेको छैन । त्यसकारण पुरानै मतगणना अनुसार मतभार तय हुनेछ,” उनले भने । थपलियाका अनुसार प्रत्येक प्रदेशबाट मतदान गर्न सांसदहरू केन्द्रमै आउनुपर्ने भएको छ । कानुनी अडचनका कारण मतदान प्रदेशमा गरेपनि केन्द्रमै ल्याएर गणना गर्नुपर्ने भएका कारण संसद् भवनमै मतदान कार्य हुने उनले जानकारी दिए ।

“कानुनी अड्चनका कारण हामीले प्रदेशमै भोट हाल्ने व्यवस्था गर्नबाट पछि हटेका हौं । सबै मतदान अब यहीँबाट हुन्छ,” उनले भने । राष्ट्रपति निर्वाचन संघीय संसद् भवन नयाँ वानेश्वरमा हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र रहने प्रमुख आयुक्त थपलियाको भनाइ छ । मतदान प्रकृया बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ ।