राजनीति

‘राष्ट्रपति पदमा लफडाले मुलुककै बेइज्जत’



काठमाडौँ, ११ फागुन । आगामी २५ फागुनमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो राष्ट्रपति पाउँदै छ । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनले नयाँ राष्ट्रपति चयन गर्ने भए पनि अहिलेदेखि नै राष्ट्रपति को हुने भन्नेमा लफडाबाजी सुरु भएपछि राष्ट्रपति पदको गरिमा र महत्व नै घट्ने अवस्थामा पुगेको छ ।

प्रमुखलगायतका विभिन्न राजनीतिक दल र तिनका नेताले तेस्रो राष्ट्रपति चयन प्रक्रिया आउनैलाग्दा गरेका खुलेयामका कृत्य र अस्वाभाविक दौडधूपले गणतन्त्रमाथि नै व्यंग्य गरिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

‘सेरेमोनियल राष्ट्रपति चयन गर्न नेपालमा जस्तो लफडा र गलत कृत्य विश्वका अन्य कुनै मुलुकमा भएको मैले देखेको छैन,’ राजनीतिक विश्लेषक एवं प्राध्यापक डा. लोकराज बरालले राजधानीसँग भने । उनले राष्ट्रपतिका लागि नेताहरूको अनावश्यक दौडधूपलाई अस्वाभाविक लफडाका रूपमा चित्रण गरेका छन् ।