समाचार

‘अफ्रिकन स्वाइन फिभर’ले बंगुर मरे



चितवन, १५ फागुन । ‘अफ्रिकन स्वाइन फिभर’का कारण जिल्लाका १२ खोरका दुई हजार ८७३ बंगुर मरेका छन् ।

भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बंगुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बंगुरमा फिभर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो । यस रोगका कारण जिल्लामा दुई हजार आठ सय ७३ बंगुर मरेका छन् । ती मध्ये वयस्क एक हजार ९१६ वटा र ९५७ पाठापाठी रहेको उनले जानकारी दिए ।

६ करोड २२ लाख ६५ हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ । यो रोग गत साउन महिनाबाट जिल्लामा देखिएको हो । अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो । रोग सङ्क्रमित सुँगुर बंगुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुरको र्‍याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बंगुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदि प्रयोग गर्दा सर्नसक्ने सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

यो रोग लागेका बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुँगुर बंगुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, बच्चा तुहिनेजस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ । यस रोगबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बंगुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधै फार्ममा रहेका बंगुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने गर्नुपर्दछ । बंगुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फार्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बंगुरलाई बथानबाट छुट्याएर अलग राख्नेजस्ता कार्य गर्दा क्षति कम हुने सूचना अधिकारी न्यौपानेको भनाइ छ । रासस