Banner News

“पाँच हजार मानिस मार्ने व्यक्ति देशको प्रधानमन्त्री बन्न सक्दैन”



काठमाडौँ, २३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध तत्काल पक्राउको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वि.सं. २०७६ साल माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरू कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिट दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रिट निवेदक कल्याण बुढाथोकीले २६ जना भएर दुई वटा मुद्दा दर्ता गरेको बताए । उनले द्वन्द्वकालमा कानुन विपरितका जघन्य अपराधका विषयमा रिट दर्ता गरेको बताए ।

उनले भने, “२६ जनाले दुई वटा रिट निवेदन दर्ता गरेका छौँ । माओवादीहरूले हिजो द्वन्द्वकालमा कानुन विपरितका जघन्य अपराध जे गरेका थिए, त्यही विषयमा रिट निवेदन गरेका छौँ ।” त्यस्तै, रिट निवेदक शिवकुमार बुढाथोकीले तत्कालीन समयमा आफ्नो सबै सम्पति माओवादीले लुटेको र अहिले प्रधानमन्त्री भएको बेलामा फिर्ता गर्न माग गर्दै आफूले रिट दर्ता गरेको बताए ।“प्रचण्डले पाँच हजार आफूले जिम्मा लिने भनिसकेकाले मानिस मारेको व्यक्ति कानुनको कठघरामा उभिनु पर्छ की पर्दैन ?,” उनले भने, “पाँच हजार मानिस मार्ने व्यक्ति देशको प्रधानमन्त्री बन्न सक्दैन ।”

प्रचण्डविरुद्धको रिटको पेसी सर्वोच्च अदालतले बिहीबार १० बजेका लागि तोकेको छ ।