राजनीति

उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपाको बैठक बस्दै



काठमाडौँ, २५ फागुन । उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा दिउँसो ३ बजे बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो । राष्ट्रपति पदको निर्वाचन आज र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

जसपाका नेता थापाका अनुसार आज बिहान ९ बजे आफ्ना सबै सांसदहरूलाई पार्टी कार्यालय बालकुमारीमा उपस्थित हुन भनिएको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको उनले बताए । जसपाका संघीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता छन् । प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त छ ।