राजनीति

एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने



काठमाडौँ, १२ चैत । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीका लागि निश्चित मापदण्ड बनाउने तयारी भएको बताइएको छ ।

यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक सकभर मन्त्री नबनाउने नीति लिने भएको छ । चैत ७ गते बसेको सो पार्टीको सचिवालय बैठकले सरकारमा सहभागिताबारे सबै निर्णय गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ । सोही आधारमा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम तय गर्नेछ ।