बारा, १४ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपालमा चारवटा शब्दको ‘अ’ हटाउनुपर्ने बताउनुभएको छ ।
संघको बारा ९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै संघको इन्चार्जसमेत रहनुभएको नेता बस्नेतले संगठनभित्र असमजदारी, असहयोग, असन्तुष्टी र अन्तघातको ‘अ’ हटाउनुपर्ने बताउनुभएको हो । पार्टी तथा संगठन एकढिक्का भएमात्र एमाले विरोधी शक्तिलाई सहज रुपमा परास्त गर्न सकिने उल्लेख गर्दै उहाँले संघ र एमालेलाई समजदारीपूर्ण पार्टी र संगठनको रुपमा आम जनतामा विश्वस्त पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘असमजदारी, असहयोग, असन्तुष्टी र अन्तघातको ‘अ’ हटाइदिनुपर्छ । त्यससँगै नेकपा एमालेलाई समझदारीपूर्ण पार्टीको रुपमा स्थापित गराउनुपर्छ । घात अन्तरघात एमालेको इतिहासमा छैन भन्ने बनाउनुपर्छ । यो मोडालिटी हामीले चलाउन चाहेका छौं । तपाईहरु पनि सोही अनुसार अगाडी बढ्नुस् । घात अन्तरघात हटाउने र गर्नेलाई संघभित्र कुनै स्थान हुँदैन । कोही कसैको प्रतिष्पर्धी हुँदैन, फलानोलाई माइनस गरेर म जित्छु भन्ने मानसिकता कसैले राख्नु हुँदैन । एमालेको वडाध्यक्ष, मेयर, सांसद, मन्त्री सफल भएमात्र हामी सफल हुन्छौं ।’
संघको ९औं महाधिवेशनले सिङ्गो युवा आन्दोलनको नयाँ सन्देश दिने उद्घोष गर्दै उहाँले संघभित्र नयाँ बहस जरुरी रहेको धारणा राख्नुभयो । विगतमा युवा आन्दोलनमा उठेका धेरै प्रश्नहरुको उत्तर संघले दिनुपर्ने उल्लेख गर्दै उहाँले ‘जहाँ युवा संघ, त्यहाँ उत्पादन’ हुनुपर्नेमा जोड दिनुभयो । युवा संघ भएको ठाउँमा उत्पादन अनिवार्य हुनुपर्ने उल्लेख गर्दै उहाँले समस्या समाधान गर्ने कार्यकर्ता संघले जन्माउनुपर्नेमा जोड दिनुभयो । संघले आगामी दिनमा सदस्यता वितरण गर्ने कार्यमा विशेष गरी दुई वटा कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।
‘१६–२७ वर्षसम्मका युवालाई सदस्यता वितरणमा विशेष ध्यान दिनुपर्ने छ’, उहाँले भन्नुभयो, ‘महिला युवाहरुको सहभागिता बढाउनुपर्ने छ, संघले नयाँ युवाको भर्ती गर्नुपर्ने छ ।’ संगठित शक्तिमा एमालेले विश्वास गर्ने उल्लेख गर्दै उहाँले संघका नेता तथा समाजका प्रतिष्ठित व्यक्ति बन्ने गरी नविनतम सोचका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘संघ राष्ट्रवादी, जनवादी हुनुपर्छ, समाजको उत्पिडन हुनुपर्छ, सामाजिक हिंसाको विरुद्धमा हुनुपर्छ । आवाज विहिन जनताको सारथी हुनुपर्छ । सामाजिक न्यायका पक्षमा संघ अग्रभागमा हुनुपर्छ । पदीय लोभमा लाग्ने हुँदैन, पार्टी र संगठनलाई सफल बनाउनुपर्छ ।’ संघको महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्न गर्ने उल्लेख गर्दै उहाँले नेतृत्व चयनमा विगतका कमजोरिलाई हटाउँदै नविनतम सोचका साथ संघ अगाडी बढ्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा संघका सहइन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सञ्जीव झा, संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष सीता सुवेदी, महासचिव क्षितिज थेवेलगायतका केन्द्रीय तहका नेताहरुको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्