Banner News

उपनिर्वाचनमा माओवादीले उम्मेदवार नउठाउने



काठमाडौँ, २० चैत । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ ।

वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको छ । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ८ हजार ४०७ रहेको छ ।

यस्तै तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको छ । तनहुँका माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउनुपर्‍यो गत शनिवार प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए । तर सो क्षेत्रमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको छ । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ७ हजार ३२६ रहेको छ ।

यस्तै बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने भएको छ । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ३ हजार २६५ रहेको छ ।