राजनीति

कुखुराको मासु र अन्डाको तस्करी रोक्न सरकारको ध्यानाकर्षण



काठमाडौँ, २५ चैत । भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए। भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिव १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका थिए।

५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको दुवै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए। ‘नेपालको पोल्ट्री क्षेत्रमा सबै भन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ। भारतीय सीमा नाकाहरुवाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा यस पेशालाई अत्यन्त ठुलो जोखिम रहेको छ’ दुवै संघले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ ।