काठमाडौँ, २७ चैत । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणमाथि अनुसन्धान हुने बताएका छन् ।
आज बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्। ‘दुई करोडको कुरा आएको छ । अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’
अडियो प्रकरणमा अनुसन्धानको प्रक्रियाबाट निष्कर्षमा पुगेर अघि बढ्ने उनको भनाइ छ। अडियोको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने गृहमन्त्री श्रेष्ठले बताए। यस्तै गृहमन्त्री श्रेष्ठले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई समन्वयका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने आग्रह गरे । मेयर शाहले सङ्घीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएपछि गृहमन्त्री श्रेष्ठले भने, ‘काठमाडौँ महानगरपालिकाका मेयरका बारेमा व्यक्तिगत रूपमा अहिले म कुनै टिप्पणी गर्न चाहन्न। तर कुरा के हो भने प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न सङ्घीय सरकार मद्दत गर्न प्रतिबद्ध छ ।’










प्रतिक्रिया दिनुहोस्