म्याग्दी, ३ बैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो ।
विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा रु एक करोड ५० लाख सहयोग जुटाएर भवन नयाँ बनाइएको हो । देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासी बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका थिए । अभियानका क्रममा रु एक करोड ५० लाख सहयोग सङ्कलन गरेर विद्यालयको सातकोठे भवन पुनःनिर्माण गरिएको भवन पुनःनिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए ।
“यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताले समेत आर्थिक सहयोग गर्नुभएको छ, कोभिडलगायतका विविध कारणले भवन कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन, समग्रमा देश तथा विदेशमा रहेका बेगखोलावासीको एकता र सहकार्यले जीर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो”, उनले भने । विद्यालयमा इन्द्रबहादुर, पदमबहादुर र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब रु १४ लाख लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरिदिएका छन् । सहयोगदाताले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुनःनिर्माण अभियानका सचिव नगेन्द्र पुर्जा (नक्कु)ले जानकारी दिए । अभियानमा आर्थिक सहयोग गर्ने दाताको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ ।
विद्यालयमा बेगखोलावासीले चन्दा सङ्कलन गरेर निर्माण गरेको सातकोठे कक्षाकोठा भवनबाहेक पुनःनिर्माण प्राधिकरणको शिक्षा एकाइमार्फत रु ३४ लाख लगानीमा तीनकोठे र ६० लाख लगानीमा चारकोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले जानकारी दिए ।
प्रवासी बेगखोलावासीको नेतृत्वमा आर्थिक सङ्कलन गरेर र सरकारी तवरबाट समेत गरी कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठनसमेत सहज भएको प्रअ गर्बुजाले बताउनुभयो । यस विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर विषयको समेत पठनपाठन गराउँदै आएको छ ।
रोजगारी, पेसा, व्यवसाय र अध्ययनका लागि विदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका बेगखोलावासीले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्