काठमाडौँ, ६ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् ।
आज ‘राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गरे । उनले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको पनि बताए ।
उनले भने, ‘मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्न सकेको छैन । मन्त्रालय फालाफाल छन् । कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन । पञ्चायतको भन्दा पनि तल पुगेको छौँ । नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीति निरंकुश भएपनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन ।’
उनले अगाडि भने, ‘आज भोलि यो सरकार पनि कति महिना ? कति दिन भन्ने चर्चा छ । घोषित नै ढंगले पनि दुई वर्ष भनिरहेका छन् । संकटकै कुरा भन्दा पनि कति बेला के हुन्छ भन्नेजस्तो छ । यो नेपालको परिवेशले अस्थिरतालाई देखाउँछ ।’










प्रतिक्रिया दिनुहोस्