काठमाडौँ, १० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आजैबाट मतगणना सुरु गर्न निर्देशन दिइएको बताए । थपलियाले आज गणना नभए भोलि बिहानबाटै सुरु हुने बताए ।
उनले भने, “बारामा त छिट्टै नै सुरु होला । तनहुँ र चितवनको सबै मतपेटिका संकलन हुदाँ राति ११ बज्ला । हामीले आजैबाट गणना गर्न भनेका छौँ । उता, आजै तयार हुन्छन कि हुँदैनन् हेरौँ । सकेसम्म आजैबाट हुन्छ । आज भएन भने भोलि बिहान छिट्टै सुरु हुन्छ । पर्सिसम्ममा सबै मतपरिणाम आइसक्छ ।”
आज बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ । बाराको भने विवरण आउन बाँकी रहेको उनले बताए । “समग्रमा साढे ५९ देखि ६० प्रतिशत मत खसेको छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्