जनकपुर, १५ बैशाख । केही दिन अघि झापाको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै गरिएको आक्रमणको प्रयास विरुद्ध राष्ट्रिय युवा संघले जनकपुरमा प्रदर्शन गरेको छ ।
कोसी प्रदेशलाई जातीय पहिचानको आधारमा नामाकरण गर्नुपर्ने मागकर्ताको नेतृत्वमा भएको उक्त भौतिक आक्रमणको प्रयासमा माओवादी केन्द्र र नेकपा सामाजवादीको संलग्नता रहेको भन्दै नेकपा एमालेले समेत सरकारको गंभिर ध्यानाकर्षण गराइसकेको छ । यसै क्रममा हिजो साँझ राष्ट्रिय युवा संघ नेपाल धनुषा जिल्ला कमिटीको आयोजनामा उक्त अराजक तथा हिंसा फैलाउने तत्वको विरुद्धमा मसाल जुलुश प्रदर्शन गरेको छ । प्रदर्शनमा विखण्डनवादी होसियार, राष्ट्रवादी एक होऔं, केपी ओली जिन्दावाद, विखण्डनकारी मुर्दावाद, राष्ट्रघाती मुर्दावाद, ढुंगामुडा गर्न पाइदैनलगायतका नाराहरु लगाइएको थियो ।
कार्यक्रमको वारे जानकाकरी दिँदै नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघका सहइन्चार्ज सञ्जिव झाले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली ज्युको गाडी माथी भएको ढुङ्गा प्रहारको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल धनुषाद्वारा चेतावनी दिदै जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरेको छ । देशमा जातीय द्वन्द्व मच्चाउन खोज्नेलाई संघले देशभरबाट तह लगाउनेछौं । पहिचानको बहानामा मुलुकमा अशान्ति हुन दिने छैनौं । देशमा शान्ति स्थापनाको लागि जस्तोसुकै कदम चाल्न संघ तयार छ । सरकारमा नै रहेका दलहरुको अप्रत्यक्ष रुपमा संलग्न रहेको छ । त्यसलाई हामीले शुष्म ढंगले नियालेका छौं । आवश्यकता अनुसार हिसाव किताव हुन्छ ।’
एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा आयोजित एक कार्यक्रममा कालो झण्डा देखाउने तथा उच्छ्रीङ्खल गतिविधि गरेको भन्दै उक्त प्रकारका गतिविधिलाई निस्तेज पार्न संघ तयार रहेको अध्यक्ष थेवेले विज्ञप्ती जारी गर्दै चेतावनी दिनुभएको छ । अनेकतामा एकता, सामाजिक सद्भाव र सहिष्णुता नेपालको विशिष्टट पहिचान रहेको उल्लेख गर्दै अध्यक्ष थेबेले उक्त कुरालाई जीवन्त राख्न संघ जस्तोसुकै परिस्थितीको सामाना गरी अगाडी बढ्न तयार रहेको बताउनुभएको छ । जनताको मुर्छित सपनाहरुलाई जागृत गर्ने र जागृत सपनाहरुलाई सफतिभुत पार्न अहोरात्र खटिनुहुने अध्यक्ष ओलीमाथिको आक्रमणको घर निन्दा गर्दै अध्यक्ष थेबेले यस्ता प्रकारका अराजक गतिविधिहरुलाई संघ प्रतिवाद गर्न तयार रहेको र सोही अनुसार तयारी अवस्थामा रहन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्