समाचार

नक्कली नोटसहित दुई जना पक्राउ



काठमाडौँ, २३ बैशाख । रु पाँचसय र एक हजारको नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वरको नयाँ वस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किनीरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकी सम्झनासँग सोधपुछका क्रममा बागबजारको युनिक होटलमा कोठा लिई बस्ने हलुवालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग एक हजारको ४९ थान नोट बरामद गरेको छ ।