Banner News

अध्यक्ष ओलीको प्रचण्डलाई प्रश्नः प्रधानमन्त्रीज्यू, फिलिम कहिले चल्छ ? हल किन बन्द छ ?



काठमाडौँ, २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले हिरोइज्म देखाएको र स्टन्टबाजी गर्न खोजेको भन्दै आक्रोस जनाउनुभएको छ ।

सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फिलिम देखाउन पनि चुनौती दिनुभयो । उनले प्रचण्डको छवि कस्तो हो भन्ने दुनियाँलाई थाहा भएको भन्दै आक्रोस जनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले नचिन्या मान्छे हो र भन्या उहाँ । अस्ति मलाई उहाँले भेट्न बोलाउनुभयो । भेटेपछि मिडियामा आएर भन्नुभयो( प्रधानमन्त्रीलाई भ्रष्टाचारीलाई छुटाउनु पर्छ भनेर कसले दबाब दिन सक्छ । मानौं कि मैले उहाँलाई दबाब दिएको थिएँ जसरी । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, यो त ट्रेलरमात्र हो, फिलिम देखाउन बाँकी छ । अन्त त फिलिम चलिरहेको छ । उहाँको हल किन बन्द छ ? अहिले संवैधानिक परिषद्को बैठक बस्दैछ । त्यहाँ पनि म गएर उहाँलाई सोध्नेवाला छु, प्रधानमन्त्रीज्यू, फिलिम कहिले चल्छ ?’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसलाई जोगाउने र कसलाई फसाउने प्रयासमा रहेको आरोप लगाउँदै भन्नुभयो, ‘एमाले भ्रष्टाचारीलाई ढाकछोप गर्दैन तर निर्दोषलाई फसाउने र एमालेविरूद्ध षडयन्त्र भए त्यसको मुकाबिला गर्छ । प्रचण्डजी, हिम्मत भए दोषीका विरूद्ध उभिनुस्, प्रतिपक्षीका विरूद्ध होइन ।’