समाचार

अमेरिका पठाइदिन्छु भन्‍दै ठगी गर्ने एक जना पक्राउ



काठमाडौँ, २९ बैशाख । अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका- १० घर भई हाल काठमाडौँ महानगर- १५ बस्‍दै आएका ५६ वर्षीय ओम शाक्‍यलाई कालिमाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले पीडित पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिन्छु भन्‍दै २० लाख र पटक पटक गरी १५ लाख गरी ३५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।