राजनीति

भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म विश्राम लिँदैनौँ : सभापति लामिछाने



काठमाडौँ, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।

आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंगमा भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताए ।

उनले भने, “कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौँ । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला, कत्रो सजाय भोग्नुपर्छ होला, मलाई थाहा छैन । तर, मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दावाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिह्न नभएर होइन,” “नेपाली जनताले यो भ्रष्टाचारचाहिँ निर्मूल पार्नुपर्‍यो भनेर घण्टी बजाएका हुन् । नेता नभएर होइन । पार्टी नभएर होइन । झन्डा नभएर होइन । चुनाव चिह्न नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यसकारणले जतिसुकै घेराबन्दी हुन्, जतिसुकै मुद्दा चल्दै गरून्, भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।”