समाचार

झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटन योजना



तनहुँ, २१ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको छ । सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत विसं २०७७ मा उक्त पुल निर्माण गरिएको हो ।

‘डि’ टाइपको उक्त पुलको लम्बाइ दुई सय २० मिटर रहेको छ । उक्त पुलमा एकैपटक चार सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ । बाबिरो÷प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो । पुल पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको छ । झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। रासस