काठमाडौँ, १८ असार। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले निःशुल्क शय्या उपलब्ध गराउन थालेको बताएका छन् ।
उनले २२ जिल्लाका विपन्न नागरिकले कार्ड देखाएर र अन्य जिल्लाले वडाको सिफारिस देखाएर अस्पतालहरूमा निःशुल्क शय्या सुविधा लिन सक्ने बताएका छन् ।
आज पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले वीर अस्पतालमा ७ सय, कोशी अस्पतालमा ३ सय ३०, कान्ति बाल अस्पतालमा २ सय ४८, ट्रमा सेन्टरमा १ सय ५०, सहिद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या निःशुल्क उपलब्ध गराउने बताए । योसँगै उनले अस्पतालहरूले सरकारसँग स्वीकृति लिँदा नै १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने सहमति गरेका कारण गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्