राजनीति

प्रधानमन्त्री दाहाललाई कसको डर ?



काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार ढाल्ने षड्यन्त्र भइरहेको दोहोर्‍याएका छन् । उनले सरकार ढालेमा त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । सुर्खेतमा बिहीबार सरकारविरुद्ध चलखेल भए त्यसको प्रतिवाद गर्ने बताएका उनले शनिबार काठमाडौंमा समेत त्यस्तै अभिव्यक्ति दोहोर्‍याए ।

‘प्रतिक्रियावादीहरूबाट गठबन्धन टुटाउन अनेक चेष्टा हुने गरेका छन्, ३२ सिटको पार्टीको प्रधानमन्त्री भएको छु, कति दिन रहने हो ? १५ दिन, एक महिना, दुई महिना, जति दिन रहन्छु, राष्ट्र र जनताको पक्षमा सम्पूर्ण इमान्दारिताका साथ काम गर्नेछु,’ उनले शनिबार चन्द्रागिरिमा पार्टीको तीनमहिने अभियान उद्घाटन गर्दै भने, ‘मलाई जसले हटाउनेछन्, तिनका विरुद्ध लाखौं–करोडौं जनतामा गएर आन्दोलनको नेतृत्व गर्ने संकल्प गरेको छु ।’

आफूलाई हटाउने षड्यन्त्र भइरहेको बताएका उनले पाँचै वर्ष आफूले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको उल्लेख गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि झस्काइदिएका छन् । ‘अहिले आठ महिना भयो हट्न परेको छैन, मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैन जस्तो देख्दै छु,’ उनले थपे, ‘जनताको साथ भयो भने यो गठबन्धन पाँचै वर्ष चल्छ ।’ गठबन्धन निर्माण गर्ने बेला दाहाल र देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

उनले सरकारबाट आफूलाई हटाउने गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताएका छन् । समाजवादी मोर्चाको सन्देशसभामा बिहीबार सुर्खेतमा उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्दागर्दै हटाउन खोजे आफूले ‘हेर्ने’ चेतावनी दिएका हुन् । ‘मलाई केही लिनु छैन, केही दिनु छैन, जे छ राष्ट्र र जनताका लागि, क्रान्ति र उपलब्धि रक्षाका लागि हो, यो सरकार कतिसम्म चल्छ, मलाई टेन्सन छैन,’ उनको भनाइ थियो, ‘सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन्, त्यो वाहियात हो, जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ, हेर्छु ।’ त्यहाँ पनि उनले आफू हट्नुपरे सडक तताउने बताए । ‘वर्षा सिद्धिएपछि लाखौं जनता सडकमा ल्याएर राष्ट्रियता, जनजीविका र सामाजिक न्यायको पक्षमा भ्रष्टाचारलाई जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले गरिदेला र खाऊँला भन्नु भूल हो ।’

गठबन्धनको प्रमुख घटक कांग्रेसले सार्वजनिक रूपमा कुनै प्रश्न नउठाइरहेका बेला दाहालले भने आफ्नो सरकार ढाले त्यसको प्रतिवाद गर्ने लगातार चेतावनी दिइरहेका छन् । यो अभिव्यक्तिले उनीमाथि मनौवैज्ञानिक दबाब परेको स्पष्ट संकेत गरेको छ । प्रधानमन्त्री दाहालले सरकार ढाल्ने षड्यन्त्र कसले गरेको भन्ने खुलाएका छैनन् तर एउटै तिरले दुई सिकार गर्न खोजेको देखिन्छ । उनले आफ्नो सरकारका बारेमा प्रश्न उठाउने गठबन्धनभित्रको कांग्रेस र बाहिरका अन्य शक्तिलाई एकैपटक सन्देश दिन खोजेका छन् । भ्रष्टाचारविरुद्ध सरकारी अभियानले कांग्रेसलाई कमजोर बनाउन खोजेको भन्ने प्रश्न उठेको छ । जसका कारण दाहालले सरकार ढाल्न खोजे त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको विश्लेषण गठबन्धनभित्र देखिन्छ ।

कांग्रेसका नेताले भने हाल सरकार संकटमा नपरेकाले दाहालबाट चेतावनीको अभिव्यक्ति आउनु आश्चर्य भएको बताए । कांग्रेस प्रवक्ता मीन विश्वकर्माले गठबन्धनभित्र कुनै समस्या नभएका बेला प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबाट यस्ता अभिव्यक्ति आउनु आश्चर्यजनक भएको बताए । ‘प्रधानमन्त्री र गृहमन्त्रीबाट पटकपटक चेतावनीको अभिव्यक्ति आउनु शंकास्पद छ,’ उनले भने, ‘सरकारको सुशासन अभियान प्रक्रियागत ढंगले पारदर्शी नभएको र केही त्रुटि भएको भन्ने प्रश्न उठेका छन् । तिनको जवाफ माग्दा सरकार ढाल्न खोजेको बुझ्नुमा मनको बाघले त खाएको होइन ? भन्ने प्रश्न उठेका छन् ।’

कांग्रेसले सरकारको विकल्प नखोजेको उल्लेख गर्दै उनले प्रधानमन्त्री दाहाल आफैं सशंकित हुनु आश्चर्य भएको टिप्पणी गरे । ‘कांग्रेस गठबन्धन सरकारको विकल्प खोज्ने पक्षमा छैन,’ उनले भने । दाहालनिकट स्रोतका अनुसार सरकार ढाल्न खोजे सडकमा आउने बताउनुको पछाडि मुख्य दुई सन्देश भएको बताए । ‘पहिलो– गठबन्धनभित्रबाटै तत्काल सरकारको विकल्प नखोजियोस्, दोस्रो– बाहिरका शक्तिहरूले गठबन्धनभित्र चलखेल नगरुन्,’ स्रोतले भन्यो, ‘सरकारबाट बाहिरिनुपर्‍यो भने सडक आन्दोलनका लागि माओवादी कार्यकर्तालाई मानसिक रूपमा तयारीमा राख्नु ।’

माओवादी उपमहासचिव वर्षमान पुनले भने सरकारले बहुमत गुमाउने अवस्था नरहेको र सरकारले जबर्जस्त राम्रो काम गरिरहेको अवस्थामा कसैले ढाल्न सक्ने अवस्था नभएको बताए । ‘गठबन्धन बलियो अवस्थामा छ, सरकारले सुशासन, सामाजिक न्याय र श्रमजीवीको पक्षमा जबर्जस्त काम गर्दै छ,’ उनले थपे, ‘अहिले कसैले ढाल्न सक्दैन ।’

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्दै दाहालले आफ्नो पार्टीको ३२ सिट मात्र भए पनि राजनीतिक मुद्दाकै कारण सरकारको नेतृत्व गरिरहेको दाबी गरे ।

आफ्नो अभिव्यक्तिमा सरकारको भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आफ्नो भारत भ्रमणको चर्चामा समय खर्चिएका उनले सरकारका कामलाई मुलुकका ६ हजार ७ सय ४३ वडामा युद्धस्तरमा पुर्‍याउन निर्देशन पनि दिए । माओवादीले सरकार, सदन र सडकबाट सरकारका कामको चर्चा सबै वडामा पुर्‍याउने निर्णय गरिसकेको छ ।

माओवादीका एक पदाधिकारीले सरकारको भविष्यबारे तीन सम्भावना देखाए । पहिलो, गठबन्धन सरकार पूरै पाँच वर्ष चल्छ । गठबन्धनमा भएको प्रमुख दल कांग्रेसका सभापति शेरबहादुर देउवा जसरी पनि आफू प्रधानमन्त्री हुनेबेलासम्म यही सरकार टिकाउन दृढ छन् । नक्कली शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाणलाई पक्राउ गर्दासम्म पनि उनी हलचल भएनन् । दोस्रो, यो सरकार तरबारको धारमा छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पत्नी आरजुतिर सोझियो भने देउवाको मनस्थिति बदलिन सक्छ । ललिता निवास प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तानेको भए पनि संकट आउन सक्थ्यो । तेस्रो– राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिका कारण यो गठबन्धन भत्किन सक्छ । यी तीनै परिस्थितिलाई ध्यानमा राखेर दाहालले अभिव्यक्ति दिने गरेका छन् ।

ललिता निवास प्रकरणमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई समेत अनुसन्धानको दायरामा ल्याएको भए सरकारप्रति संशय हुने अवस्था रहन्थ्यो । त्यसलाई दाहालले टारेका छन् । शुक्रबार समाजवादी मोर्चाको सभामा त दाहालले नेपाल निर्दोष रहेको दाबी नै गरिदिए । ‘माधव नेपालको नाम आउँदा उहाँलाई मात्र होइन, मलाई पनि तनाव भयो, मैले प्रहरीलाई जो कोही परे पनि छानबिन गर भनेर निर्देशन दिएँ,’ उनको भनाइ थियो, ‘छानबिन गर्दा म नै परे पनि नछाड्नुस् भनेको छु । पार्टीमा कति आफन्तलाई जोगायौ भन्ने आरोप पनि लाग्यो । अहिले पार्टीका व्यक्ति पनि परेका छन् । छानबिन सबैलाई हुनुपर्छ ।’

यी तीन सम्भावनाबीच दाहाल सरकारले भदौ ११ मा आठ महिना पूरा गरेको छ । तर दाहाललाई सरकार पूरै अवधि टिप्नेमा संशय भने कायम छ । कांग्रेस सभापति देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति कडा आपत्ति जनाइरहेका छन् । श्रेष्ठले ‘बिना सम्झौता’ नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन प्रकरणमा अनुसन्धान अघि बढाएपछि उनीमाथि कांग्रेस र माओवादीबाटै दबाब पर्दै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानले देउवा आक्रोशित छन् । ‘आलोपालो प्रधानमन्त्रीका लागि पालो नकुरेको भए यो सरकार पाँच महिनामै ढलिसक्थ्यो होला,’ माओवादीका एक वरिष्ठ नेताले भने, ‘देउवाको सहनशीलता प्रधानमन्त्री पदका लागि देखिन्छ । सरकारको भ्रष्टाचारविरोधी अभियानले कांग्रेसलाई क्षति पुगेको उहाँको बुझाइ छ ।’

भ्रष्टाचारविरुद्धको अभियानका कारण सरकार ‘सेफ साइड’ मा रहेको देखिन्छ । मुलुकको आर्थिक अवस्था, मूल्यवृद्धिलगायत अरू समस्या ज्युँका त्युँ भए पनि कमै मात्र आलोचना भएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन प्रकरणका मुद्दा अदालत पुगिसकेकाले बाँकी अनुसन्धान सरकारको काँधमा आएको छ । सरकारनिकट उच्च स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री दाहाल र देउवाबीच गहन संवाद भएको छैन । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणले देउवा चिढिएका छन् ।

यो अवधिमा दाहाल सरकार मुख्यगरी दुईपटक संकटनजिक पुगिसकेको छ । सरकार बनेको दुई महिनापछि एमालेसँगको गठबन्धन भत्किएर कांग्रेसको समर्थनमा सरकार बन्दा विश्वासको मत नलिँदासम्म संकट थियो । विश्वासको मत लिइसकेपछि दाहाल सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट पारित हुनेमा केही आशंका थिए । खासगरी बजेट संशोधन नगरे एकीकृत समाजवादी र जनता समाजवादीले पारित हुन नदिने चेतावनी दिएका थिए । १२ सिट भएको जसपाले बजेटमा समर्थन नगरेको भए सरकार अल्पमतमा पर्ने थियो । अन्तिम समयसम्म जसपा सांसद पक्षमा मतदान नगर्ने अडानमा थिए । यस्तो अवस्थामा बजेटको पक्षमा १३५ मत मात्रै हुन्थ्यो, पारित गर्न कम्तीमा १३८ मत आवश्यक पर्थ्यो । प्रधानमन्त्री दाहालले सांसदहरूलाई मनाएपछि १४७ मत पुर्‍याएका थिए । सरकारको संकट टरेको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।