Banner News

एमाले लुम्विनी प्रदेशः अध्यक्षमा रिजाल र कँडेल, ३ बजेपछि मतदान



काठमाण्डौ,१८ भदौ । बुटवलमा जारी एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा अध्यक्षसहितका सबै पदमा दुई समूहले उम्मेदवारी दर्ता गराएका छन् । सबै पदमा दुवै समूहले उम्मेदवारी दिएपछि नेतृत्व चयनका लागि मतदान हुने पक्का भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्न निर्देशन दिएका थिए । तर, अध्यक्ष ओलीको निर्देशनविपरीत लुम्बिनीमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो ।निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ । सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा उक्त समय सकिएपछि निर्वाचन समितिले उम्मेदवारी दिएकाहरूको नामावली तयार पार्दैछ ।

सोमबार बिहानसम्म पनि सहमतिमै नयाँ नेतृत्व चयनका लागि नेताहरू जुटे पनि सहमति हुन सकेन । खासगरी अध्यक्षका आकांक्षी हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्यसमेत रहेका हरिप्रसाद रिजालबीच सहमति जुटाउने प्रयास भए पनि सहमति नजुटेको एक नेताले बताए । एमाले नेता खिमलाल भट्टराईले सोमबार दिउँसो ३ बजेबाट मतदान गर्ने तयारी भइरहेको बताए ।
उम्मेदवारी दर्ताको समय सकिएसँगै दाबी विरोध, उम्मेदवारी फिर्तालगायतका कामहरू हुने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले बताए । निर्वाचन कमिटीका सदस्य विष्णुप्रसाद खनालले मनोनयन दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले अरू प्रक्रिया सुरु गरेको बताए ।
एमाले लुम्बिनीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य र सोम सापकोटा तथा उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ कँडेल र विश्वकर्मा रिजाल पक्षका हुन् । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।