राजनीति

मैले राखेको धारणाप्रति चीनका राष्ट्रपतिले पूर्ण समर्थन जनाउनुभएको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, १३ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको  सम्बन्ध केन्द्रित रहनुपर्नेबारे आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपति सि जिनपिङले पूर्ण समर्थन रहने जनाएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किने क्रममा प्रचण्डले विगतमा दुई देशका बीचमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त भएको जानकारी गराएका छन् । सन् २०२६ मा नेपाल कम विकसित देशहरूको सूचीबाट विकासशील राष्ट्रको रूपमा स्तारोन्नती हुने सन्दर्भमा चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा हासिल गरेको अद्धितिय सफलताको सन्दर्भमा चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको  सम्बन्ध केन्द्रित रहनुपर्ने बारेमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपतिले पूर्ण समर्थन रहने बताएको उल्लेख गरे । 

उनले आफ्नो चीन भ्रमणबाट दुई देशका बिचमा प्रगाढ सम्बन्ध निर्माण गर्न मद्दत पुगेको आफूले विश्वास लिएको बताए । भ्रमणको दौरान चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत रूपमा भएको छलफलबाट नेपाल चीन सम्बन्धमा थप उचाइमा पुगेको बताउँदै प्रचण्डले विगतमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतापनि व्यक्त गरिएको उल्लेख गरे । पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र त्यसमा उड्डयन निकायहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको बताए । 

उनले भने–‘दुई देशबिच रहेको बहु आयामिक सम्बन्धलाई प्रगाढ बनाउने सन्दर्भमा विचारको स्पष्ट आदान प्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर कुरा भयो । नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ । सो विषयलाई पुन: पुष्टि गर्दै नेपाल चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनमा आधारित रहने र भविष्यमा यो सम्बन्धलाई अझ उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा पनि गहन छलफल गरियो ।’