काठमाडौँ, १५ कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको भन्दै त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुँदा वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् ।
लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।
उक्त अवसरमा अर्थमन्त्री डा. महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवम् संस्थागत व्यवस्था गरेको जानकारी गराउँदै यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका काम थालनी गरेको समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्