Banner News

राष्ट्रपतिद्वारा प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माण गर्न आह्वान



काठमाडौँ, ६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपत्तिसँग जुध्न भौतिक पूर्वाधारको क्षेत्रमा विशेष सतर्कता अपनाउनु जरुरी रहेको बताएका छन् ।

आजदेखि काठमाडौँमा सुरु एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेसनल फेडेरेसन अफ एसियन एन्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्स)को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै
उनले कुनै मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । ‘पृथ्वी रहे मात्र हामी रहन्छौँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका निम्ति उनले आह्वान गरे ।

उनले संगठनले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता औँल्याए । कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न पनि उनले आग्रह गरे । राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताए । संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भूमिका खेल्न उनले निर्माण व्यवसायीलाई आग्रह गरे ।