Banner News

अर्थमन्त्री महतले जानकारी गराए देशको आर्थिक अवस्था



काठमाडौ २७ मंसिर । अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि चलायमान भएको बताएका छन् । देशको आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको वताए ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको उच्चस्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश खुकुलो बनाउँदै लगिएको समेत उनले जानकारी गराए । मौद्रिक नीतिको समीक्षाबाट महत्वपूर्ण परिवर्तन भएको उनको दाबी छ ।
देशको वर्तमान आर्थिक अवस्था र परिणामहरू जानकारी गराउँदै मन्त्री महतले भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७।१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७।५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, वित्तीय क्षेत्रतर्फ मौद्रिक नीति मार्फत नीतिगत दर, बैंक दर र निक्षेप संकलनको बोलकबोल दर घटाएको र जसबाट ब्याजदर क्रमश घट्दै गएको उनको भनाइ छ । २०८० असोज मसान्तसम्म चालू खाता ५९ अर्ब ले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड रहेको तथ्यांक पनि महतले पेश गरेका छन् ।