रौतहट, ३० मंसिर । गुजरा नगरपालिका–२ मैराका सूर्यबहादुर सार्की उमेरले ७४ टेके । यसबीचका ३४ वर्ष त संघीय राजधानी काठमाडौं धाउँदैमा बितेको छ । उनी रहरले राजधानी धाएका होइनन् । न्यायको धिपधिपे आशा बोकेर राजधानी धाउँदाधाउँदै आफैं निभ्न लागिसके । उनको जीवनमा आइपरेको यो बाध्यतामा २२ वर्षीय छोरा रणबहादुरको मृत्युको कथा छ ।
घटना २०४६ चैत २७ गतेको हो । निरंकुश राजतन्त्रविरुद्धको जनआन्दोलनमा रणबहादुर दरबारमार्गमा आन्दोलित थिए । त्यही बेला सुरक्षाकर्मीको गोली लागेर उनको मृत्यु भयो । जनआन्दोलनका क्रममा धेरैले ज्यान गुमाएको सम्झेर र छोराले देशका लागि बलिदानी दियो भन्ने सम्झेर उनले आफ्नो चित्त बुझाए । तर, जनआन्दोलनमा ज्यान गुमाएकाहरू सबैलाई सहिद घोषणा गरीवरी राज्यले सेवासुविधा दिइसक्दा पनि रणबहादुर छुटेको छुट्यै भए । त्यसपछि सुरु भयो सूर्यबहादुरको दौडधुप । छोरालाई सहिद घोषणा गराउन तयार पारेको कागजात बोकेर उनी कहिले सिंहदरबारभित्रका मन्त्रालय पुगे, कहिले विभिन्न दलका कार्यालय धाए, कहिले जिल्ला प्रशासन कार्यालय दौडिए ।
तर, उनको कुरा कसैले सुनेनन् । अरू त परै जाओस्, उनी आफैं सक्रिय सदस्य रहेको नेपाली कांग्रेसकै नेताहरूले पनि उनको माग पूरा गराउने तत्परता देखाएनन् । भलै सहिद घोषणाका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेपाली जनता दलले सिफारिस भने गरेका छन् । सिफारिस त तत्कालीन गाविस, जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति, जिल्ला प्रहरी सबैले गरेका छन् । ‘भएभरका कागज बोकेर राजधानी र जिल्ला धाउँदाधाउँदै बुढेसकालले घेरिसक्यो,’ उनले भने, ‘हुँदैन कसैले भन्दैनन्, हुन्छ भनेर पनि कसैले काम गरिदिँदैनन् ।’
विभिन्न आन्दोलनका नाममा ढुंगामुढा गरेर ज्यान गुमाउनेलाई पहुँचका भरमा सहिद घोषणा गरिए पनि प्रजातन्त्रका लागि लडेको छोरालाई बेवास्ता गर्दा उनलाई औधी चित्त दुखेको छ । सूर्यबहादुरले क्षतिपूर्तिका लागि पहल गरिदिन २०६३ जेठ १६ गते राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले गृह मन्त्रालयलाई पत्राचार गर्यो । गृहले २०६३ असार १२ गते आवश्यक पहलका लागि प्रशासन कार्यालय रौतहटलाई पत्र पठायो । यताबाट उता र उताबाट यता सिफारिस हुँदा पनि उनले केही पाएनन् । अहिले उनले पेस गरेको फाइल गृह मन्त्रालयमा थन्किएको छ । गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले रणबहादुर सार्कीलगायत धेरैको नाम समावेश हुन छुटेको र उनीहरूबारे केही कुरा बुझ्नुपर्ने बताए । ‘केही मानिस सहिद घोषणाको लिस्टमा छुटेका छन् । प्रक्रियामा रहेकाले छुटेकाहरूको एकमुष्ट घोषणा हुन्छ,’ उनले भने, ‘सम्बन्धित जिल्लाबाट सकारात्मक सिफारिस आएको छ भने त्यो निश्चय पनि हुन्छ । अहिले छुटेकाहरू प्रक्रियामा छन् ।’
सूर्यबहादुरले एक साताअघि पनि जिल्ला प्रशासन कार्यालय गौरबाट पुन नयाँ सिफारिस बनाएर लगेका छन् । दोस्रो जनआन्दोलनका क्रममा मृत्यु भएका रौतहटका एमाले नेता ताहिर अन्सारीको सहिदको लिस्टमा नाम छुटेको भन्दै २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएका सहिद घोषणा गरिएको थियो । तर, ‘पहुँच’ नपुगेका कारण त्यसबेला पनि रणबहादुरको नाम सहिदको सूचीमा चढेन ।
सूर्यबहादुरका ५ छोरामध्ये आन्दोलनमा मृत्यु भएका रणबहादुर जेठा हुन् । कमाउने छोरा गुमाएपछि गाउँमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका सार्की परिवारले जसोतसो परिवार धानेको छ । २०५४ सालमा तत्कालीन कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले राहत स्वरूप १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त निर्णयपछि उनले ५० हजार पाए तर पछि दिने भनिएको १ लाख रुपैयाँ पाएनन् ।
रणबहादुरकी ७१ वर्षीया आमा झमककुमारी छोरा गुमाउनुको पीडा बुढेसकालमा झनै चर्को हुने बताउँछिन् । ‘मेरो छोरा कसका लागि सडकमा गएको थियो ? केका लागि गयो ?,’ उनले प्रश्न गरिन्, ‘व्यवस्था भएन । राजतन्त्र निरंकुश भयो भनेर सडक आन्दोलनमा होमिएको होइन र ? आज तिनै छोरालाई राज्यले बेवास्ता गर्यो ।’ छोराको मृत्युको ३४ वर्षपछि उनले उसको यादले सताउन नछोडेको सुनाइन् ।
कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले रणबहादुरलाई सहिद घोषणाका लागि आफूले तत्कालीन पार्टी सभापति सुशील कोइरालासमक्ष पटक–पटक कुरा राखेको सम्झिँदै अहिलेसम्म काम हुन नसकेको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्