राजनीति

सत्ता गठबन्धनले तीन प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने



काठमाडौँ, २९ पौष । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन लक्षित गरी तीन वटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।

गठबन्धनले आसन्न माघ पहिलो साता कोशी, मधेस र बागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो । 

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक अनुसार माघ ६ मा बागमती प्रदेशको काठमाडौँ, माघ ७ गते मधेस प्रदेशको जनकपुर र माघ ८ गते कोशी प्रदेशको विराटनगरमा मतदातासँग अन्तरक्रिया कार्यक्रम हुने छ ।

उक्त कार्यक्रममा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि कठिन केन्द्रीय समन्वय समितिका संयोजक रमेश लेखक, सदस्यहरू वर्षमान पुन, राजेन्द्र पाण्डे र मनिष सुमनको सहभागिता रहनेछ । जसपाका प्रवक्ता मनिष सुमनले, ‘तीन प्रदेशबाट अन्तर्क्रियाका लागि समन्वय समितिलाई बोलाइएको छ । त्यहाँ हामी बसै जना जान्छौँ ।’ अन्य प्रदेशबाट पनि आमन्त्रण गरिए समन्वय समिति र शीर्ष नेताहरू सहभागी हुने उनको भनाइ छ ।