Banner News

गठबन्धनको गोत्र निकम्मा, जात देशद्रोही हो : अध्यक्ष ओली



काठमाडौँ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको आरोप लगाएका छन् । 

आज पार्टी कार्यालय च्यासलमा एमाले निकट खेलकुद महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको बताए । 

उनले भने, ‘यी एकै नस्लका हुन् । कमिसन तन्त्रका हुन् । यिनको गोत्र निकम्मा र जात देशद्रोही हो’, ‘त्यसकारण यी एकै ठाउँमा बस्छन् । त्यसकारण हामीले जनताका बलमा आन्दोलनमा उत्रनुपर्ने   र देश बरबाद हुनबाट जोगाउनुपर्ने पनि हुनसक्छ ।’‘यसमा हामीले गर्व गर्नसक्नुपर्छ । किनभने हाम्रा विरोधीहरु एक्लै लड्ने भिड्ने आँट नै गर्दैनन् । हामीमात्रै एक्लै लड्छौ र लड्ने पनि’, ‘तर विरोधीहरुले स–साना जोडेर सरकार बनाएका छन् । त्यो कस्तो सरकार भने तरकारी बारीको बुख्याँचा जस्तो छ । केही गर्ने होइन त्यसले ।’

उनले अहिले गठबन्धनका टाउकोमा सुगा पनि बस्ने र काग पनि बस्ने भन्दै सबैले गठबन्धनलाई चिनिसकेको बताए ।  ‘सरकार निकम्मा । भ्रष्टाचार र कमिसनखोरी सरकारको संरक्षक । यस स्थितिमा हामीले मिसन ८४ पर्खन नसक्ने अवस्था पनि आउन सक्छ’, अध्यक्ष ओलीले भने, ‘देश बर्वाद हुन लाग्यो भने हामीले कहाँ मिसन ८४ को चुनाव भनेर पर्खेर हुन्छ ? उस्तै पर्यो भने हामीले यो गठबन्धन भत्त्काएर..।’