राजनीति

राष्ट्रिय सभा निर्वाचन : बागमतीमा २ मतदान केन्द्र, ३७० प्रहरी परिचालन गरिने



मकवानपुर, ९ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको तयारी लगभग पूरा भइसकेको छ । निर्वाचनका लागि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको नयाँ भवनलाई प्रयोग गर्ने तयारी छ ।

उक्त मतदान स्थलमा २ वटा मतदान केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । निर्वाचनमा लागि मतदान स्थलको अनुगमन गरी आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापकीय कार्यका लागि समेत निर्णय भइसकेको उनको भनाइ छ । मतदानका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको र मतपत्र समेत छुट्टै हुने गरी बुथको व्यवस्थापन गरिएको निर्वाचन अधिकृत सञ्जेलले जानकारी दिए । उनका अनुसार एक मतदान केन्द्रमा ४ वटा गरी कुल ८ वटा बुथको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत सञ्जेलले मतदान अधिकृत समेत तोकिएको र मतदान स्थल व्यवस्थापनका लागि एउटा बुथमा १० जना गरी कुल २० जना कर्मचारीको व्यवस्था गर्ने गरी निर्णय भएको बताए ।