काठमाडौँ, ९ माघ । न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौँ महानगरपालिकाले उठाएको छ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले कडाइ थालेको हो ।
जसअनुसार मंगलबार बिहान बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी पनि गराउने गरेको छ ।
नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्