काठमाडौँ, २३ माघ । आज सेयर बजार परिसूचक नेप्सेमा झन्डै १० अंकको वृद्धि भएको छ ।
अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो । यद्यपि, अघिल्लो दिन १४ अंकले नेप्से बढेको बजारमा २ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र कारोबार हुँदा आज ९ अंकले नेप्से बढ्दै गर्दा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल रि–इन्स्योरेन्सको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । १३ वटा उपसूचकहरू मध्ये आज ट्रेडिङ र अन्य समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । १८१ कम्पनीको सेयर मूल्य बढ्दा ५७ वटा कम्पनीको मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्